आत्महत्या (कविता) - अंकिता त्रिपाठी

असार १६, २०७८

 
- अंकिता त्रिपाठी 
 
मेरा सुखहरु आफैमा 
कहिले हास्दैनन्  
विघ्न दुख्छन् मेरा  
दुःखहरु एकआपसमा  
म सायद एक्लो छु  
समाजको बिचमा
 
पटपट फुटेर मेरो हृदयबाट 
छताछुल्ल पोखिन्छन्   
आत्मियता लाभा बनेर 
मलाइनै जलाउँछ 
विघ्न  पोल्छ
एक्लो हुनुको पिडाले
 
रित्तो हुन्छ मेरो हात साथबिना 
रित्तो हुन्छ यात्रा पदछापबिना 
नेपथ्यमा उडान भरेको सपना  
थ्याच्च बसिदिन्छ 
यस्तै शिथिल छन् इन्द्रिय मेरा
मलाई गिज्याउँछन् आफ्नै 
संघर्षहरु चुचुरादेखि  
जहाँ नपुग्दै म बेहिसाब पछारिइरहें
अब सुस्ताउदैछन् मेरा सुस्केराहरु 
अस्ताउदैछन मेरा होसहरु  
खै र हिम्मत ? 
 
ए सुन न, ए बोल न 
खै र उत्तर ? 
तिम्रो मौनताले दिएका
अनेक खटनहरु कैद छन्  
चक्रव्युह बनाउछन् 
म उम्किउ कसरी ? 
एक विन्दुमा मेरो आत्मा 
शरिरबाट छुट्नै आँट्छ  
नयाँ शरीर वरण गर्न खोज्छ 
मेरो शरिरको हत्या गर्न खोज्छ
म विवस, नहौ कसरी ?  
 
जब म मर्छु 
ती तमाम मस्तिष्कहरु चर्किन्छन्  
उपेक्षित वर्तमानमा 
हुर्किदै गरेका आँकुराहरु हार्छन् 
जीवनसंग कयौ युद्ध  
झन गाह्रो बन्दै जान्छ
जीवनको अर्थ  
त्यसैले  
टक्क उभिएर एक्लै 
जोगाएर थोरै थोरै उर्जा 
यहि एक विन्दुमा 
म पुनः मेरो जीवनको 
अल्पविराम खोजिरहेछु 
म पुनः हिम्मत र 
हौसला बटुलिरहेछु
 
 
यदि मैले आज 
आत्महत्या गरें भने 
मेरो शरिरसँगै सकिन्छ   
लोकले अनुभव गर्ने जिन्दगिका
थुप्रै उतारचढाव 
समाज बिल्कुलै अपुर्ण हुन्छ  
अनि सकिन्छ मसँगै 
पुनः अर्को अनि अर्को 
अनि अर्को जिउँदो शरीर 
हैन भने विश्वास गर 
यो विन्दुपछि 
म जस्तै डटिला हुन्छन् 
ती तमाम शरीरहरु 
अनि आत्माहरु
 

CopyRight |All Rights Reserved