पुष २८, २०७७
थाहा छैन कति हजार वर्षपछि
म ब्युँझिएको छु
धेरै लामो पर्खाइपछि तिमी आयौ
उसो त म तिमीलाई सोध्न सक्थेँ
किन तिमी यति ढिला आएकी ?
मेरो सास किन अस्थिर थियो ?
तिमीलाई झक्झकाएर सोध्न मन थियो
के पाप गरेको थिएँ मैले
र तिमी सिङ्गै युग बितेपछि आएकी छ्यौ ?
कुनै पोख्त सङ्गीतकारले रचेको
सबैभन्दा फिक्का सङ्गीत थिएँ म
बल्ल बुझें मेरो राग त तिमी पो रहेछौ ।
कुनै एस्ट्रेमा थिचिन लागेको
चुरोटको ठूटो थिएँ म
त्यसमा फेरि फिल्टर समाएर केही सर्को तानेर
कसैले पूर्ण गरिदिए झैँ भएको छु म
मलाई हिसाब किताब आउँदैन
पाप धर्म केही थाहा छैन
म त कुनै अन्तर बिनाको मान्छे
तर मैले अब आँफै भित्र हिसाब गरेको छु ।
जो तिमी आएपछि मात्र नाफामा गएको छ ।
यो समय जहाँ पनि जान सक्छ
यो हावा जहिलेसम्म पनि बग्न सक्छ
यो सृष्टि जहिलेसम्म पनि रहन सक्छ
हामी कालको घाँटीमा पाइला टेकेर हिड्दै गरौँला
बिन्ती आज म तिमी महसुस गर्न चाहान्छु ।
मेरो आँखामा बसिदेउ
तिमी सिङ्गै एक युग पछि आएकी छ्यौ ।