रित्तो "सभा" (कथा) - पूर्णिका अर्याल

पुष २८, २०७७

- पूर्णिका अर्याल

केही सीमारेखाहरू छन्, जसभन्दा बाहिर जानु नाजायज र घातक हुन सक्छ । सन्दर्भ जेसुकैको होस् तर सीमाहरू, सीमा नै हुन्छन् । कहिलेकाहीँ मान्छेलाई आफैँसँग नै विश्वासघात गर्ने रहर लाग्दोरहेछ र त्यसमा पनि सन्दर्भ जेसुकैको होस् । केही पूराना कहानीहरू छन् । अलिकति केहि बदलिएका छन् तर तिनै कहानीलाई औसतमा दाँजेर हेर्ने हो भने आशय एउटै निस्कन्छन् । म यिनै कुरा सोच्ने गर्छु । एउटा सानो भूलले पनि मान्छेलाई के के कुराबाट वञ्चित गराउँदो रहेछ भन्ने कुरा मैले केही हदसम्म बुझ्न थालेको छु । यहाँ प्रसङ्ग प्रेमको छ ।

"प्रेम" शब्द आफैँमा नाजुक छ । प्रेम एउटा "मिठो दर्द" हो । मलाई पनि प्रेम भएको छ । म अझैँ पनि प्रेम गर्दछु कसैलाई । म अझैँ पनि कसैको चेहरालाई सम्झिन्छु । मेसेन्जरमा भएको "ग्रुप म्यासेज" लेखिएको र त्यसभित्र भएका हजारौँ सन्देशहरूलाई म बारम्बार हेर्ने गर्छु । ती मेसेज जतिपटक पढेपनि मलाई दिक्क लाग्दैन, बरु ती अझैँ उस्तै ताजा लाग्दछन् । प्रत्येक पटक ती मेसेज पढ्दा उस्तै मिठो मुस्कानका लहरहरू फ्याँक्दछन् मेरा ओँठले, र म प्रत्येक पटक धकेलिन पुग्छु फेरि त्यही पूरानो कहानीमा !

मलाई याद छ भन्न अलिक नसुहाउला ! याद प्राय: बिर्सिएका कुराहरूलाई गरिन्छ । त्यस दिन मनमा केही उत्सुकता थिएन, म सामान्य थिएँ । मेसेन्जरबाट आइरहेको "टुङ्टुङ्" आवाजले मेरो ध्यानलाई मोबाइलतर्फ केन्द्रित गराइरहेको थियो । भर्खरै ड्युटी सकेर रूममा फर्किएर नुहाउने तयारी गर्दैथिएँ । बिरानो मुलुक, वैशाखको उखरमाउलो गर्मी, दिनभरि राम्रोसँग साँसै नफेरी काम गरेर थाकेको शरीर र त्यसमाथि मोबाइलबाट लगातार आइरहेको नोटिफिकेसनको आवाजले मलाई थकानमा बढावासँगसँगै अलिकति क्रोध पनि दियो । त्यहाँ ईमो, फेसबुक, मेसेन्जर, युटुबलगायत मेरो ध्यानाकर्षण गर्न सक्ने थुप्रै कुराहरू थिए । केहीलाई पनि वास्ता नगरी मोबाइलमा इन्टरनेट अफ गरेर नुहाउन गएँ । सरसफाइको काम सिध्याएर खाना त बनाएँ तर मलाई खाना खाने मन पटक्कै लागेन । एकछिन मोबाइल चलाएर खाना खाउँला भन्ने सोचले म मोबाइल चलाउन थालेँ ।

फेसबुकको न्यूजफिड हेर्दैथिएँ, हिजोको नयाँ वर्षका तस्वीर र शुभकामना सन्देशबाहेक हेर्न लायक केही भेटिनँ । मेसेन्जर हेरेँ, अनावश्यक रूपमा पठाइएका शुभकामना सन्देशबाहेक त्यहाँ पनि केही भेटिनँ । मेरी पत्नी अनु पनि अनलाइन थिइन । फेरि सम्झिएँ, आज कता लाखबत्ती पूजामा जानु छ भनेकी थिई उसले । त्यसैले बोल्नेजस्तो कोही साथी नभेटाई दिक्क लागेर मोबाइल अफ गरेर खाना खाने तरखरमा थिएँ, फेसबुकको "पिपल यु मे नो" मा देखिएको चीरपरिचीत नामले मलाई झस्कायो । अक्सर तिनै नामहरू फेसबुकले "पिपल यु मे नो" मा देखाउने गर्दछ जसलाई कहिल्यै बिर्सनै सकिँदैन । फेसबुकको यो फिचरले अलिअलि रिस उठेर आयो र मनमनै जुकर्बर्गलाई सरापेँ । आँखालाई भरोषा दिलाउन प्रोफाइलभित्र गएँ । नाम उही थियो, ठेगाना उही थियो र अध्ययन गरेको विद्यालयको नाम पनि उही नै थियो । प्रोफाइलमा भएको तस्वीरलाई नियालेर हेरें, अझै पनि उस्तै रहिछ ऊ । देब्रे गालामा भएको त्यो कालो कोठी अझैँ पनि उस्तै मोहक थियो । मेरा हात अनायासै कुनै अपराध गरेझैँ गरी काँप्न थाले । "सभा", "सभा कँडेल" थियो त्यो नाम !

ऊ मेरी बाल्यकालकी साथी ! ऊ र मैले पढ्ने विद्यालय एउटै थियो । ऊ मभन्दा एक कक्षा तल पढ्दथी । उसको र मेरो घरको दूरी लगभग १० मिनेटजतिको थियो । गुल्मी र अर्घाखाँचीको सीमाना पर्न खोज्ने गाउँतिर हाम्रो विद्यालय थियो । सभा, प्रदीप, सुमित्रा, यमुना र मेरो एउटा छुट्टै समूह थियो । हामी सँगै विद्यालय जाने गर्दथ्यौँ । बिदाको दिनमा सँगै बाख्रा चराउन भिरपाखामा जाने र घरकुटी खेल्ने गर्दथ्यौँ । सभाले मलाई "राजु" भनेर बोलाउने गर्दथी । मैले "मेरो नाम राजु होइन, राजन हो" भनेर ऊसँग रिसाउने गर्थेँ । जतिपटक भनेपनि उसले मलाई मेरो वास्तविक नामले कहिल्यै बोलाइन । साँच्चै निष्कपट र निश्चल प्रेम थियो हामी साथीहरूमा । मैले एकपटक फेरि बाल्यकालका सबै कुराहरू सम्झिन पुगेँ । चाहेर पनि त ती सबै दिन फर्किन सक्ने थिएनन् । बाल्यकालका अट्टहास र चाञ्चल्यताले मनै चिसो भएर आयो । फेरि सभाको प्रोफाइल नियालेर हेरेँ । "एड फ्रेन्ड" को बटन दबाउन सकिनँ, फेरि बेवास्ता गर्न पनि सकिनँ ।

बल्लबल्ल हिम्मत जुटाएर फ्रेण्ड रिक्वेस्ट पठाएँ । ऊ अनलाइल रहिछ सायद, ठिक तीन मिनेटपछि उसले मेरो फ्रेण्ड रिक्वेस्ट एसेप्ट  गरी । मेसेज टाइप गर्न खोज्दै थिएँ, उसकै मेसेज पहिले आयो । मेसेन्जर "टुङ्टुङ्" बज्यो ।

"हेल्लो ! तपाईँ राजन होइन ? मसँगै पढेको ? सञ्चै हुनुहुन्छ ? अहिले कहाँ हुनुहुन्छ ?"

उसका सवालहरूको लस्कर देखेर मेरो दिमाग नै रन्थनियो । कानले "टिन्न" आवाजबाहेक अरु केही सुन्न सकेन । उसले सानामा मलाई "तिमी" भनेर सम्बोधन गर्थी, कहिलेकाहीं जिस्किएर "तँ" भन्थी । कुनैदिन "राजु" भनेर सम्बोधन गर्दा रिस उठ्ने मलाई आज उसले मेरो वास्तविक नामले पुकार्दा मनमा च्वास्स बिझेजस्तो भयो ।

मैले जवाफ पठाएँ, "हो । म त्यही राजन हो । म ठिक छु । अनि तिमी ? तर तिमीले कसरी चिन्यौ ?"

बिर्सिएकी थिइन उसले पक्कै, त्यही पनि नखरा गर्न सोधिहालेँ ।

मेसेन्जर बज्यो ।

"तपाईँ निष्ठुरीलाई त कसरी बिर्सन सक्नु ?"

"निष्ठुरी" कतै सजिलै उसले मलाई "निष्ठुरी" भनी । के आधारमा भनी ? मैले के बिगारेको छु उसको ? मनमा एकप्रकारको सवाल उठ्यो ।

"बिर्सिएकी रैनछौ राम्रो कुरा हो तर "निष्ठुरी" के का आधारमा भन्यौ ?" मैले सोधेँ ।

"चिठीको जवाफ फर्काउनुभएन । मैले महिनौँ कुरेँ, वर्षौँ कुरेँ ।"

"कुन चिठी ? कस्तो चिठी ?"

"कस्तो कुन चिठी ? त्यो पनि मैले बताउनुपर्ने हो अब ?" ऊ सायद रिसाई ।

हजारौँचोटि दिमागमा दबाव दिएर याद गर्न खोजेँ, पटक्कै याद आएन ऊ कुन चिठीको कुरा गर्दैछे ।

"मलाई थाहा छैन, तिमी कुन चिठीको कुरा गर्दैछ्यौ !" मैले जवाफ फर्काएँ ।

"साँच्चै थाहा छैन या अबुझ बन्दै हुनुहुन्छ ?" उसले मसँग निहुँ खोजी ।

"तिमीले मलाई बेबकुफ सम्झिएकी छ्यौ ?" मलाई रिस उठ्यो ।

"सरी ! मेरो मतलब त्यो थिएन । मैले तपाईँहरू बसाई सरेर कञ्चनपुर जाँदै हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईँको नाममा चिठी लेखेर सान्दाइको हातमा पठाएकी थिएँ । म घरबाट भागेर मावल बुटवल आएर बसेकी थिएँ, तपाईँको जवाफको अपेक्षामा तर त्यो अपेक्षा नै रह्यो ।"

अघिसम्म नआएको चिठीको याद अब आयो । उसले एक्काइस वर्षअघिको कुरा गरेकी रहिछ । मलाई त्यो एक दिनको याद आयो, जुन दिन बाले मलाई "नपत्याउने खोलाले बगाउँछ" भन्दै व्यङ्ग्य हानेका थिए । मैले त्यसको आशय बुझेको थिइनँ । मलाई आजसम्म कसैले पनि लप्पनछप्पनको मामिलामा आरोप लगाएको छैन र थिएन पनि । तर त्यो एकदिन थियो, जहाँ मैले आफ्नो भूल ठम्याउन सकेको थिइनँ । अब यी सबै कुरा सम्झिएर पनि केही फाइदा थिएन ।

मैले उसलाई जवाफ फर्काएँ, "सभा, मैले तिम्रो चिठी पाइनँ । सायद त्यो चिठी बाको हातमा परेको थियो ।"

"होला ! तर मैले तपाईँलाई चिठी पठाएकी छु भन्ने कुरा मामाले सुइँको पाउनुभएछ । मैले घरमा नराम्ररी गाली खाएँ ।"

"चिठीमा त्यस्तो के लेखेकी थियौ ?"

"मलाई लिन आउनुस् भनेर लेखेकी थिएँ ।"

मलाई के बोलुँ के बोलुँ भयो । केही भन्नै आएन ।

"गाली त बेस्सरी खाएँ । त्यसपछि बाले मलाई काठमाडौँ ठूलोमामाकहाँ पठाइदिनुभयो, त्यतै बसेर पढेँ ।"

"अहिले कहाँ छ्यौ ?" मलाई बोल्ने मौका बल्ल जुर्यो ।

"अहिले बुटवल छु, स्कूलमा पढाउँछु ।"

चिठीको कुराले बिझाएको मन, केही हल्का भयो ।

"तिमी ठाउँमा छ्यौ, तिमीलाई चिठीले गलत गर्नबाट रोक्यो ।"

"सोझो हुनुहुन्छ थाहा थियो, लाटो पनि हुनुहुन्छ आज थाहा पाएँ ।"

मैले उसको कुराको आशय बुझिनँ, न त उसले नै मेरो कुरालाई बुझ्ने कोशिस गरी । ऊ जति समझदार थिई, त्यति नै अबुझ पनि । ऊ धनी परिवारकी थिई, हाम्रो परिवारको आर्थिक स्थिति पनि निम्न थियो । उसले मसँग बिहे नै गरेको भएपनि खुसी हुने थिइन । म उसलाई यो सब कुरा बुझाउन सक्दिनथिएँ । मेरो मनमा सवाफ उठिरहेको थियो, बाको हातमा चिठी परेको भए बाले मलाई त्यसबारेमा केही किन सोधेनन् ?

"तपाईँलाई थाहा नहोला तर म जान्दछु, बाको हातमा परेको चिठीको बारेमा तपाईँलाई किन केही पनि थाहा छैन !"

उसले के भन्न खोजिरहेकी थिई ? मैले बुझ्नै सकिनँ ।

"किन ?" मैले प्रश्न तेर्स्याएँ ।

उसले थपी, "म छिमेकीको छोरी हुँ, त्यसैले सायद ! तपाईँको परिवारको इज्जतमा दाग नलागोस् भनेर ! यति भन्दा पनि बुझ्नुहुन्न भने म बुझाउन सक्दिनँ ।"

मैले उसको कुरो आधा बुझेँ, आधा बुझिनँ ! उसको वर्ग, छिमेकी पर्नु र सम्बन्धको के सरोकार छ ?

म फेरि अक्मक्किएँ ।

"सभा, जो आफैँमा भिँड हो, ऊ आज रित्तै छे । मेरो घमण्ड तोड्नुभयो तपाईँले । मलाई लाग्थ्यो, मैले रोएँ कराएँ भने सबथोक पाउन सक्छु । म गलत थिएँ, त्यो केवल एक बच्पना थियो । मैले सबथोक पाएँ, तपाईँलाई पाउन सकिनँ ।"

उसले फेरि थपी, "सबैले "सभा" भनेर याद गर्लान् तर तपाईँले "रित्तो सभा" भनेर याद गर्नु !"

मेरो मन बिझायो । मुटु चिसो भयो । हात थरथर काँप्यो । मेसेज टाइप गर्नै सकिनँ । उसको मेसेज फर्काइफर्काइ हेरेँ । जवाफ दिन सक्ने हालतमा पनि थिइनँ । एकछिनपछि फेरि हेरेँ, "ग्रुप म्यासेज" भनेर देखाएको थियो, उसले मलाई ब्लक गरिछ ।

म केही गर्न पनि सक्दिन थिएँ । म उसलाई पहिल्यैदेखि नै मनमनै मन पराउथेँ, उसलाई चाहन्थेँ । उसले पनि मलाई मन पराएकी रहिछ । तर केही कारणवश न मैले उसलाई यो कुरा भन्न सकेँ, न उसले नै भन्न सक्ने स्थिति थियो । मैले पहाडमा हुँदासम्मको सबै कुरा एकएक गरी स्मरण गरेँ । उसले बताएजस्तै जिद्दी थिई । कुनै कुरा उसलाई चाहियो त ऊ हासिल गरेरै छोड्दथी । मेरो आँखाभरि उसको अनुहार आइरह्यो । उसले "राजु" भनेर बोलाउने गरेको याद आयो । उसका अघिसम्मका कुराले पनि मनमा स्थान लिइरहे । कुनै यस्तो ठाउँ पाइनँ, जहाँ सभा नभएकी होस् । ऊ यस्ती थिइन, धेरै कुरा बदलिएछ । नबदलियोस् पनि कसरी,समय अटल थिएन । ऊ मेरो मनमस्तिष्कमा त्यतिबेलासम्म छाइरही, जतिबेलासम्म मेरा आँखामा गहिरो निन्द्रा परेन ।  

 

CopyRight |All Rights Reserved