'धब्बा' उपन्यासबारे भ्रामक सामग्रीका कारण विवादमा तानियो 'मिर्जापुर २'

कार्तिक १३, २०७७

केहि दिन अघि अमेजन प्राइमबाट प्रसारण भएको भारतीय वेब सिरिज 'मिर्जापुर २' विवादमा तानिएको छ । सिरिजको एक दृश्य प्रति आपत्ति जनाउदै साहित्यकार सुरेन्द्र मोहनले सिरिजका निर्माता फरहान अख्तर र रितेश सिधवानी साथै अमेजन प्राइमलाई एक नोटिस पठाएका छन् । 
 
 
सुरेन्द्र मोहनले सिरिजमा आफ्नो उपन्यास 'धब्बा' सँग जोडिएको एक दृश्यमा भ्रामक जानकारी दिईएको बताएका छन् । सिरिजको तेस्रो एपिसोडमा सत्यानन्द त्रिपाठी (कुलभूषण खरबंदा) नामको पात्रले 'धब्बा' को केहि हरफ पढिरहेको देखाईएको छ । ती हरफमा 'बलदेवराज' नामको चरित्रको बारेमा कुरा गरिएको छ तर सुरेन्द्र मोहनले आफ्नो उपन्यासमा 'बलदेवराज' नामको चरित्रनै नरहेको बताएका छन् । उनले त्यहाँ वाचन गरिएको हरफ पनि उपन्यासको नभएको भन्दै आपत्तिजनक हरफहरु राखिएको प्रति खेद ब्यक्त गर्दै आफ्नो मानहानि भएको साथै आफ्नो पाँच दशकको साहित्यिक करियर ध्वस्त बनाउन खोजिएको बताएका छन् । 
 
 
निर्माताहरुलाई पठाएको नोटिसमा सुरेन्द्र मोहनले उपन्यास आफ्नो अनुमति बिना प्रयोग गरिएको र त्यहाँ प्रयोग भएका हरफहरु आफुले लेख्ने कल्पनानै गर्न नसक्ने खालको तल्लो स्तरको भएको जनाएका छन् । नोटिसमा सम्बन्धित दृश्यलाई तुरुन्त सुधार्न र त्यस्तो नगरेको खण्डमा कानूनी कारवाही अगाडी बढाउने भन्दै एक हप्ताको समय दिईएको छ । 
 
रितेश सिधवानी र फरहान अख्तरको निर्माणमा बनेको यस सिरिजलाई गुरमित सिंह र मिहिर देसाईले निर्देशन गरेका हुन् । सिरिजमा अलि फजल, स्वेता त्रिपाठी, दिवयेंदु शर्मा, पंकज त्रिपाठी, रसिका दुग्गल, कुलभुषण खरबंदा, अन्जुम शर्मा, राजेश तैलंग, हर्षिता शेखर गौर, ईशा तलवार, विजय वर्मा, प्रियांशु पेनुली, अमित सियाल, अंजना शर्मा लगायतको अभिनय रहेको छ । 

CopyRight |All Rights Reserved