खुसी खोज्दै हुनुहुन्छ ?

कार्तिक १, २०७७

- पर्वतराज घिमिरे

खुसी खोज्दै हुनुहुन्छ ?

व्यावहारिक खुसी भ्रमबाट नै निस्किने हुन् ।

जस्तो कि,

म खुसी छु भन्नु नै एउटा भ्रम हो । उसो त म खुसी छु भन्नेमात्र भ्रम हुँदैन । म दुःखी छु भन्ने भ्रम पनि हुन्छ । तर ताजुबको कुरा त के हो भने म दुःखी छु भन्ने भ्रमबाट पनि मान्छे खुसी हुन्छ । यसो भनौँ खुसी भएको भ्रममा पर्छ । पत्याउनुहुन्न भने बिहान चियापसलमा गफ निकाल्नुस् मैले यति दुःख पाएँ, उति दुःख पाएँ, यति दुःख छ, उति दुःख छ । तपाईंका साथीहरू हाँ मा हाँ मिलाउँछन् । उनीहरू पनि आफ्ना दुःखका कथाहरू भन्न थाल्छन् र तपाईंभन्दा दुःखी सिद्ध गर्छन् आफूलाई । तर ती दुःखका कथाहरूमा कहीँकतै दुःख हुँदैन । जति धेरै दुःखी भयो उति धेरै खुसी ।

दुःखको भ्रममा सुख नहुने भए मानिसहरू आफ्ना आत्मकथाहरू दुनियाँलाई सुनाउन यति हतारिने थिएनन् । हरिवंश दाजुले चिना हराउनुमा खुसी देखे, जीवन फूल हो भनेर पनि कथाभरि काँडैकाँडा छरेर झमक दिदी खुसी भइन् । संसारमा सबैभन्दा बढी बिक्ने भनेकै दुःखको कथा हो । वियोगान्त नभएका प्रेमकथाहरू अमर कम नै हुन्छन् । नल र दमयन्तीले उत्तिकै दुःख पाए । द्वारका जाँदा कृष्णले राधालाई साथमै लगेको भए कथा हराई जाने थियो । मदनसँगै भोट गएर सकुशल घर फर्किएर श्रीमतीको र आमाको रहर पूरा गरेका मदनहरू र तिनीहरूका सबै मुनाहरूका कथा कहाँ लोप भए ? महाभारत र रामायण दुःखकै कारण बिकेका हुन् । मान्छे आफूलाई दुःखी देखाउनुमा र दुःखका कथाहरूमा एकाकार गर्नुमा खुसी हुन्छ । दुःखको भ्रमभित्रको खुसी ।

अँ त, कुरा भ्रमको थियो । म दुःखमा बहकिएँ । दुःखकै कुरा गरिरहँदा म पनि धेरैसित बहकिएको छु । कसैसित तपाईं दुःखका कुरा घन्टौँसम्म सुनाउन सक्नुहुन्छ । तर खुसीका कुरा गर्नुस् मान्छे आधा घन्टामा वाक्कदिक्क भइसक्छ । यसभित्र तपाईंको एउटा भ्रम छ, ऊ खुसी छ । सत्य त मान्छे अरूको दुःख सुन्नुमा खुसी हुन्छ । मान्छेले आनन्दमा आफूलाई अभ्यस्त गराउन जानेन । फेरि भन्नुहोला, उसो भए बाल्यकालका खुसीहरू सम्झिएर किन आनन्दित हुन्छ मान्छे ? बाल्यकालको खुसी सम्झिएर आनन्दित भएको होइन, बाल्यकाल यति रमाइलो थियो, अहिले यति रमाइलो छैन भन्ने भाव हरेक बाल्यकालीन कहानीमा हुन्छन् ।

तपाईं र मलाईझैँ उनलाई र उहाँलाई पनि आफ्नै दुःख चट्टान लाग्छ । एउटी माताले त उत्पातै गर्नुभो अस्ति, दुःख सुनाउन थाल्दा थाल्दै भन्नुभयो- मैले कति दुःख गरेर पढेको । दिनदिनै कलेज जानुपर्थ्यो । घरमा भान्से बाहुनी राखेको थियो तर बाबालाई मैले नै पकाएको सब्जी चाहिन्थ्यो । पकाउनुपर्थ्यो । भान्से बाहुनीले केलाइदिन्थिन्, काटिदिन्थिन् । यसो भन्दाभन्दै उहाँ रुनुभयो । मैले बिहानै उठेर बेलुकाको ठेट्ना गोजीमा हालेर बडेमानको घाँसको भारी ल्याएर पसिनाले मुख धोई अलिकति ढिँडो च्यापेर स्कूल गएकी मेरी दिदी सम्झेँ । कपालभरि कपालका रौँभन्दा बढी कुरो (बिझाउने कुरो त था छ नि ?) लिएर आएकी आमा बेलुका अगुल्टो लिएर प्रौढ शिक्षा पढ्न गएको सम्झेँ । यो कथाको भ्रमसित के नाता छ तपाईं नै खोज्नुस् ।

म पनि कैयौँ भ्रममा रमाउँदै आएको छु । जस्तो कि तिमीले मलाई माया गर्छ्यौ भन्ने भ्रम । मेरा साथीहरू साह्रै गजब छन् भन्ने भ्रम । पढेर विद्वान् र ज्ञानी हुन्छु भन्ने भ्रम । दुईचार जना बेरोजगारहरू हल्लिने पुरानो खण्डहर कलेज हो भन्ने भ्रम । जून शीतल छ भन्ने भ्रम । आकाश नीलो छ भन्ने भ्रम । म ज्यूँदो छु भन्ने भ्रम । बेरोजगार बुडाहरूको खाली दिमागले निकालेका पाँडे गफहरूलाई पनि त भ्रमकै कारण मैले दर्शन भनेको हुँ । देवकोटा, सम र लेखनाथका फुर्सदका कुराकानीलाई भ्रमकै कारण कृति भनेर चर्चाको चुलीमा कसले पुर्‍यायो ? ताजुब त त्यतिबेला लाग्छ जतिबेला गाउँमा दुई अक्षर नचिनेकी बुढीमाउले जानेका उखान र कथाकुथुङ्ग्री बडेमानको साहित्य हो भनेर स्नातकोत्तर तहमा पढ्नुपर्छ । एक कक्षामा गीत गाउँदा सरले गाली गरे । दुई कक्षामा उखान भन्दा मिसले कुटिन् । स्नातकोत्तर तहमा गएर त्यो उत्कृष्ट लोकसाहित्य हो भनेर म कसरी पढूँ ?

अर्को तपाईंहरूले भोगेकै भ्रम सुनाऊँ ? सरहरू मुना र मदनको प्रेम पढाउँछन् । रोमियो र जुलियटका कथाहरू सुनाउँछन् । लैला मजनू, कृष्ण र राधा यस्ता हजार हजार प्रेममहानी सुनाउँछन् र केही थाहा नभएको डुकुलन्ठु मान्छेलाई पनि प्रेम भन्ने चीज हुन्छ भन्ने भ्रम उत्पन्न गराउँछन् । जब ऊ यही भ्रममा अन्तिम बेन्चमा मदन बन्न खोज्छ र आफ्नी मुनालाई कागज डल्लो पारेर हिर्काउँछ, तिनै बडेमान्‌का विद्वान्‌हरूको पारो तात्छ । कथाकी मुना त भ्रम हुँदै हो । आखिर कथा त कथा न हो ! पढ्दापढ्दै हामीलाई आफूमा भन्दा कथामा विश्वास लाग्न थालिसक्यो अचेल । हामीलाई छिमेकीकी छोरीले चप्पल हानेकोमा होइन, मुनाले मदनलाई हातको सिरानीमा सुताएकोमा विश्वास छ । भ्रमकै कारण सही, कल्पनाकै कारण सही । मैले पनि आफूलाई सुन्दर देखेको छु । सुन्दर हुनुसँगै लुट्ने मजाहरू लुटेको छु । नत्र मान्छेको रूप केही होइन, सुन्दरता त दिलको कुरा हो भन्ने सरले पनि नजिकैको बेन्चमा बसेकी बाटुलीतिरै हेर्छन् । कुनाको बेन्चमा बसेर डन्डीफोर निचरिरहेकी मुनाको हालत तपाईं आफैँले पनि भोग्नुभएको होला । तर, तपाईं भ्रममा हुनुहुन्छ है ! ती साँच्चै सुन्दर छिन् ।

आनीछोइङ दिदीले पनि भ्रमकै खेती गरिन् फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । सत्य त काँडाको आँखामा पनि संसार फूल नै हो । अझ यो गणितको असली इक्वेसन त यस्तो हो, फूलको आँखामा काँडै संसार, काँडाको आँखामा फूलै संसार । फत्तेमान काकाले भ्रम छरे, मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनँ । तपाईंलाई के था, बुडा कति कष्टले मरे । अरे केलाउनुस् यार नारायण गोपालदेखि बच्चु कैलास, बब मार्लीदेखि माइकल ज्याक्सन, भिटेनदेखि दुर्गेश थापासम्म आँखाबाट रस निकाल्नेदेखि अन्तैतिरबाट निकाल्ने होइन खुस्काउनेवाला रसहरू हुनेसम्मलाई सङ्गीत मान्नेको के कमी छ ? मैले उदाहरण ल्याएको मात्र होइ । उसो त तपाईंलाई यौटा सत्य कुरा भनिहालूँ, म हरेक शब्दभित्रको भ्रमका विषयमा धेरै लामो गफ दिन सक्छु । मैले बोलेको अन्तिम वाक्यको भ्रममा हुनुहुन्छ भने मुक्त हुनुस् है ।

यति भनेपछि यौटा ठुलो कुरा त गर्नैपर्यो - आखिर भ्रम एउटा ठुलो सत्य हो र सत्य एउटा ठुलो भ्रम । असली कुरा त भरे दुईचार लाइक गरिदिनुभएन भने र मलाई उचाल्नुभएन भने भरे रातभरि निद्रा लाग्दैन, सत्ते !

 

CopyRight |All Rights Reserved