नेवार समुदाय र सांस्कृतिक विचलन

आश्विन २०, २०७७

- श्रीराम दाहाल

नेवार जाती हो की समुदाय ?
यो यक्ष प्रश्न माथी हामी अहिले गम्भिर बहस गर्दैछौँ ।
नेवाः शब्दले मुलवासी भाषिक समुदायलाई बुझाउछ र तिनीहरुको मूल थलो काठमाडौ हो । नेवा कुनै जात, जाति, जनजाति, नश्ल वा धर्म विषेष होइन । यो एक भाषिक समुदाय हो । नेपाल मण्डल (काठमाडौ उपत्यका) को साझा संस्कृति हो । यो समुदाय भित्र कयौँ मूल जातीहरु छन् । आदीवासी, किराँत, कन्याकुञ्ज, बङ्गाली, राजस्थानी, आसामी, तिब्बती, मैथिली, इत्यादी छन् भने सनातन धर्म अन्तर्गत शैव शाक्त, तान्त्र, वैदिक,  बज्रयान, हिनयान, महायान, नाथ र वैश्णव छन् । ब्राह्मण, नाथ, गभु, भा, मकै भैल, सेंजु, महर्जन, सेवाचार्य, बज्राचार्य आदी धेरै जात जातीहरु यस समुदाय भित्र छन् । आर्य, द्रविड र मंगोल समुदायको तीन नश्ल छन् ।

नेवार कुनै जात, धर्म नभई राष्ट्रियताको पर्याय हो । यो राष्ट्रियता भित्र मंगोलियन, आर्यन द्रविडियन, किराँत, लगायतका समुदाय छन् । यो समुदाय निकै सम्पन्न र समृद्ध छ ।

नेवार समुदायको मौलिक स्वरुप:
यो समुदायको आफ्नै मौलिक स्वरुप र पहिचान परापूर्व काल देखिनै स्थापित छ । उनीहरु उपत्यकाको समथर फाँटमा आफ्नो थात थलोको रुपमा बसोबास गर्दै आइरहेका छन् । जहाँ चोक, गल्ली, डवली र घरहरु जोडेर बजारको स्वरुपमा समाज निर्माण गरिएको छ । पछिल्लो राष्ट्रिय जनगणना अनुसार नेवारहरुको जनसंख्या १३,२१,९३३ रहेको छ । यो संख्या जनसंख्यको हिसाबले छैटौँ ठूलो क्रम स्थान हो । वर्तमान समयमा आधा मात्र उपत्यका भित्र बसोबास गर्छन् । बसाईसराइ हुँदै विभिन्न स्थानहरु जाने क्रममा आफ्नो भाषा संस्कृती रहन सहन भेषभूषा पनि स्थानान्तरण हुँदै जाँदा आफ्नो मौलिक स्वरुप र संस्कृती पनि आ–आफ्नो साथमा फैलिंदै गयो । ऐतिहासिक, साँस्कृतिक शहरहरुमा यत्रतत्र डवलीहरु इनार, ढुङ्गेधारा, मठ मन्दिर, गुम्वा, चैत्य, ईत्यादीको निर्माण संरक्षण सँगै आफ्नो लिपी रन्जना र भूजिमोल लिपी छन् भने प्रचलित लिपी नेपाल लिपी हो । निर्माण संरक्षण सँगै जात्रा पर्वहरु, कुमारी रथ यात्रा, इन्द्रजात्रा, विस्केट जात्रा, गाईजात्रा, पूजा र जिउदो देवीको रुपमा कुमारी घरमा कन्यालाई राखेर देवीको रुपमा पुज्ने गर्दछन् भने भैरवकाली, घण्टाकर्ण, पूजा लागयतका स्थानीय देवी देवताको र राक्षसको समेत पूजा तान्त्रिक तथा वैदिक विधी विधान अनूरुप गर्ने गर्दछन् । खानपानमा समेत मौलिकता छ नेपाल सम्बत् यीनीहरुको मौलिक सम्बत् हो । कार्तिक शुक्ल प्रतिपदा को अर्थात् गोवर्धन पूजा को दिन यसको उठान भएको हो । यसका प्रणेता शंखधर शाख्वा कि राधवदेव हुन भन्ने कुरामा मत बाझिएको  पाइन्छ ।  राजालाई नारायण भन्ने चलन छ शंखधर, चक्रधर भनेका उनै नारायण हुन भन्ने तथ्य इतिहाँसविद्हरुले उल्लेख गरेका हुन् ।  हाल नेपाल संवत् ११४० चलिरहेको  छ । जात्रा पर्वमा प्रस्तुत गरिने देवी देवतका मुकुटहरु, आफ्नै मौलिक बाजाहरु त्यसका सुर, ताल, भाव भंगीमा कथा किम्बदन्ती र कथानक प्रस्तुती सँगै आफ्नै शैली र शिल्पका धनी  नेवारहरुको कार्तिक नाँच संसारकै लामो नाटक हो जुन एक महिना सम्म देखाइन्छ । यस्तै भैरवकाली नाँच, नवदूर्गा नाँच, लाखे नाँच, आदि नाला, वनेपा, धुलिखेल, पनौती, दोलखा, पाटन, भक्तपुर, काठमाडौ उपत्यकाका विभिन्न स्थानहरुमा देखाउने चलन छ । आफ्नो मौलिक कला संस्कृती र परम्परा को पुस्ता हस्तान्तरण मा अन्य समुदाय भन्दा अग्रणी स्थानमा रहेर आफ्नो मोलिकताको संरक्षण गरिरहेका छन् ।

इतिहासः
नेपालको इतिहासमा काठमाडौ उपत्यका सधै केद्रमा रहने गर्छ । प्राचिन कालदेखि मुल थलो काठमाडौ रही आएको भए पनि विक्रम संवत् ९३६–१८२६ सम्म उपत्यका बाहिर बसाई शुरु भएको हो । वर्तमान समय सम्म आइपुग्दा विश्वका धेरै देशहरुमा बसोबास गर्दै आईरहेका छन् । नेपालका विभिन्न जाती र समूदाय मध्ये यो निकै वैज्ञानिक, सभ्य, सु–संस्कृत शिल्प र कलाका धनी मात्र नभएर समृद्ध समुदाय हो । सामाजिक सद्भाव र भाइचाराको अनुपम नमूना हो । नेवारको शाब्दिक अर्थ “नेपालको बासिन्दा” हो । नेवारको औपचारिक भाषा नेपाल भाषा हो । यसको नामाकरण नेपाल देशकै नामबाट भएको ऐतिहासिक अभिलेखहरुमा प्रसस्त पाईन्छ । नेपाल संम्वत् आफ्नो मौलिक सम्वतले पनि यसको पुष्टि गर्छ । ७०० वर्ष सम्म मल्लहरुको राज्य चल्दा उनीहरुले ठूला ठूला पदहरुमा  प्रजाको नियुक्ति गरे उनीहरु जुन–जुन पदमा नियुक्त भए सोही अनुसार थर निर्धारण भयो - जस्तै मन्त्रिहरुलाई अमात्य, सेना प्रमुखलाई प्रधान, ढुकुटी हेर्नेलाई राजभण्डारी, शिक्षकलाई जोशी, सबै भारदारको सामुहिक नाम श्रेष्ठ भनियो । यो जात नभएर पद हो । विश्वमा इटालीवाट सवैभन्दा पहिला पुर्नजागरण भएको भनिन्छ तर  यो कुरा गलत हो । त्यहाँ पन्ध्रौँ  शताब्दीको पुनर्जागरण आएको थियो, नेपालमा एघारौं शताब्दीमै ठूला ठूला विश्व प्रशिद्ध मन्दिर चित्रहरु बनाइसकिएको थियो । मल्ल कालमा आयुर्वेदमा ठूलो विकास भै-सकेको थियो । ठूला ठूला दरवार, इनार, इट्टा विछाइएका सडक, रथ, वग्गी, ढुंगेधारा र ढलको वैज्ञानिक व्यवस्थापन, शहरका विचमा पोखरीहरु इत्यादी सम्पदा र संस्कृति नेवारको प्राचिन इतिहासको साक्षि छन् ।

वर्तमान परिस्थिति र अवको कार्यदिशाः
नेवार काठमाडौ उपत्यकाका भुमिपुत्र हुन् । १८२५ पछि शाहवंशिय शासनले मल्ल राजाहरुका विश्वास पात्रहरुलाई शंकाको घेरामा राखी विभिन्न आरोप लगाई दुःख दिएर आजित बनाउदै लगेपछि उपत्यका छाडेर पहाडी स्थानहरुमा लुकेर खेती गर्दै साधारण जीवन विताउन थाले । शाहवंशीय प्रशासन र सुरक्षामा नेवारलाई राख्दा आफ्नो तख्ता पलट हुने सम्भावना देखेर उनीहरुलाई त्यसबाट बञ्चित गरियो । त्यसपछि नेवारहरुले अर्थोपार्जनको बाटो व्यापार मात्र भेटे । नेवार समुदायमा जनै लाउने देखि सनै बजाउने सम्मका जात जाति छन् । नेवार समुदाय मानव जन्म देखि मृत्युसम्म गरीने मौलिक संस्कार बोकेको समुदाय हो । नेवार समुदाय वर्तमान सन्दर्भमा पछी पर्दै गईरहेको  देखिन्छ “बाहुन विग्रियो मोजले, नेवार विग्रीयो भोजले” भन्ने उखानै छ । नेपाली समाजमा तागाधारी र मतवाली दुई भेद छन् । नेवार मतवाली तहमा परे पनी दह्रो खुट्टा टेक्न नसकेको देखिन्छ । अनी तागाधारीको तहमा पनि जान नसकेको भान हुन्छ । शाहवंशिय शासकहरुले आफ्नो शासन चलाइराख्न मनोवैज्ञानिक प्रहार गरे जस्तैः “नेवार इष्ट र बाउ दुष्ट हुँदैन”,  “न केराको थाम तात्छ, न नेवार तात्छ”, “पारी भित्तामा स्याल करायो ध्याम्पा भित्र पसेर तिन लिँड हगो तर डराउन चै डराएन ।” नेवार साच्चिकै डर छेरुवा भए पृथ्वी नारायण शाहले कीर्तिपुरमाथी १७ पटक आक्रमण गर्नु पथ्र्यो र ? भक्तपुर माथी मितेरी साइनो लाएर घात गर्नु पथ्र्यो र ? कुमारी पुजा भैरहेको दिन पिठ पछाडीबाट काठमाडौ आक्रमण गर्नु पथ्र्यो र ? यो इतिहास भए पनि यसको मनोवैज्ञानिक प्रभाव कायमै देखिन्छ । अब जनै र सनैसँग जोडिएको इतिहाँसलाई  विर्सेर यसलाई आफ्नो इतिहाँस सम्पदा, पौरख, कला, संस्कृति, र परम्परा को हक भोग गर्न विद्यमान कुरिती कु–संस्कार र अन्धविश्वास त्यागेर समय सापेक्ष निती आ– आफ्नो गुठी र समाजमा लागू गरेर आफ्नो पहिचान र पुख्र्यौली विरासत नेवार समुदायले थाम्नै पर्छ ।  यो नै राष्ट्र्रियता र पौरखको कडी हो । यसका लागि सम्पुर्ण नेपालीले गर्व गरेर सम्पदा र संस्कृति संरक्षणमा लागिपर्नु पर्छ ।

नेवार समूदाय पुर्ण समूदाय विकशित हो । नेवारको गुठी परम्परा समाजवाद तथा साम्यवादको उत्कृष्ट नमूना हो । यो परम्पराले हुनेखानेलाई सार्वजनिक हितमा आफ्नो जमिन सहितको सम्पति दिन प्रेरित गर्ने र त्यसबाट विपन्न वर्गलाई समेत दिन प्रेरित गर्ने र त्यसबाट विपन्न वर्गलाई  समेत लाभ हुने भएकाले यो मौलिक स्वरुप अनि अद्भुत भएको समाजशास्त्रीहरुको कथन रहेको छ । गुठी व्यवस्था धार्मिक एवं सामाजिक सहिष्णुता र सहकार्यको उत्कृष्ट स्वरुप सँगै लिएर जान सक्ने परम्परागत संस्था हो ।

नेवारले मान्ने विभिन्न जात्रा पर्वहरुको उदाहरण माथी ध्यान दिउँ । मच्छिन्द्रनाथको रथ निर्माणको वैज्ञानिक शैली अनि रथारोहणका लागि निर्माण गरिएको चोक डवली र बाटो ले सामाजिक विकास र आर्थिक सम्पन्नता दर्शाइरहेका छन् । पाटन, भक्तपुर, काठमाडौका दरवार क्षेत्रहरु जसको निर्माण अद्भूत कला र परिष्कृत वैज्ञानिक विधीद्वारा गरिएको छ । पाँचतले (न्यातपोल), भैरव, दत्तात्रेय, हनुमान घाट १८ औँ शताब्दीमै भुपतिन्द्र मल्लले निर्माण गराएका हुन् । सिद्धिलक्ष्मिको मन्दिरमा तान्त्रिक शक्तिद्वारा कलात्मक टुडाँल र पस्तर कला समाविष्ट गरिएको छ । यो मन्दिर ७ महिनामै निर्माण सम्पन्न गरिएको थियो । भक्तपुरमा निर्माण भएका मन्दिर र मुर्तिका ढुङ्गा नाला छाप वाट छनौट गरी ल्याइन्थ्यो । ति विशाल ढुङ्गालाई तुषारोमा चिप्लाइदै भक्तपुर ल्याइन्थ्यो । यस्तै भक्तपुरमा चाँगुनारायणको मन्दिर, सिद्धपोखरी, कमलपोखरी आदि छन् । पशुपतीनाथ स्वयम्भु बौद्ध, पाटन कृष्ण मन्दिर, बंगलामुखी आदि त १७औं शताब्दीमै निर्माण भैसकेका थिए । नेपालको हालसम्मको पौराणिक इतिहास पाटनमा भेट्न सकिन्छ । १०२४ –१०४० सम्ममा लक्ष्मिकामदेवले युपग्राम (यल) पाटनको राज्य स्थापना तथा कला कौशलको सिँगार्न शुरु गरेको किवंदन्ती पाइन्छ । यहाँका नेवारी वास्तुकला सुन्धारा तुसाहिटी धारा ज्यादै आकर्षक छन् । भिमसेनको मन्दिर श्रीनिवास मल्लले बनाएका हुन् । १७५८ मा योगनरेन्द्र मल्लले मणिमण्डपको निर्माण गराएका थिए । यि राजालाई  आज सम्म पनि जिवित राजाका रुपमा मानिन्छ । दरवारको पश्चिमी एक कोठामा झ्याल खुल्ला राखी उनका लागि शयन कक्ष आज सम्म राखिएको छ । आफ्नो शालिकको टाउकोमा एउटा चरा राख्न लगाएर  “यो उडेर नगएसम्म मलाई ज्युँदै छ भन्ठान्नु” भनेका थिए ।

१७ औँ शाताब्दीमै सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएको शिखर शैलीको ढुङ्गा मात्रले बनेको पाटन कृष्ण मन्दिर अर्को अनुपम नमूना हो । शिखर शैलीको निर्माणमा यो विश्वकै पहिलो निर्माण हो । यहाँ नारायणका दश अवतारका पस्तर मुर्तिहरु र महाभारतको सम्पुर्ण कथा कोरीएको छ । काठमाडौमा नवपाषण युगका अवशेषका रुपमा ईश्वी संवत् १८५ को मुर्ती सबै भन्दा प्रचिनतम मूर्ति हो । राजा रत्न मल्ल देखि पृथ्वी विरविक्रम शाहका पाला सम्म बनेका सम्पदाहरु तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव पार्वती मन्दिर, कुमारी घर, ठूलो घण्टा, काल भैरव, आकाश भैरव, संकटा मैजु, देवल, जोशी देवल गद्धी बैठक, काष्ठमाण्डप आदिले ऐतिहासिक कालखण्ड देखि नै विकसित र उन्नत समाज निर्माण भैसकेको प्रमाण प्राप्त गर्न सकिन्छ । त्यस्तै उपत्यका बाहिर, पनौतीको इन्द्रेश्वर, बनेपाको चण्डश्वरी, धनेश्वर, नालाको करुणामय, भगवती, पलाञ्चोक भगवती, दोलखा भिमसेन इत्यादी लाई अध्ययन अनुसन्धान गर्दा नेवार समुदाय हिरक युगबाट स्वर्ण र स्वर्ण युगबाट रजत युगमा प्रवेश गरेको स्पष्ट देखिन्छ । आफ्नो कला र कर्ममाथी विश्वास र गर्व गर्न नसकेर अधोगति यात्रा चलिरहेको देखिन्छ ।

आर्थिक, सामाजिक र राजनैतिक अवस्था:
सात प्रदेश सहितको संविधान २०७२ असोज ३ गते जारी भएको छ । सो ऐनको दफा २ (क) अनुसार आफ्नै मातृभाषा, परम्परागत रितीरिवाज, छुट्टै संस्कृति, सामाजिक संरचना, लिखित वा अलिखित इतिहास भएको जातीलाई आदीवासी भनिन्छ नेवार आदीवासी हुन् । नेपालको शासकिय स्वरुपले दोश्रो दर्जाका नागरिक झैँ व्यवहार हुँदै आएकोमा गणतन्त्र पछी केही आशाका किरण देखिएका छन् । हिजो व्यापार र कृषिमा मात्र अर्थोपार्जन गरी आएको समुदाय आधुनिक पेशा र व्यवसायमा उन्मुख हुँदै गइरहेका छन् ।  आफ्नो पैत्रिक भूमी उपत्यकामा राजधानी भए पछि हक अधिकार गुमाउँदै अब कोठा कोठा र तला तलामा सिमित हुने नेवारको संख्या धेरै छ । आफ्नो कला संस्कृतीको हस्तान्तरण र व्यवसायीकरण हुन नसक्दा पुख्र्यौली पेशा लोप हुदै वैकल्पिक खोजमा भौतारिदै गरेको पाइन्छ । भने आधुनिक सभ्यता र संस्कतिको लेप लगाउन र तडकभडक अनि देखासेखी गर्ने क्रियाकलापले यो विराट संस्कृति ओझेल पर्दै आफ्नो पहिचान र स्वभिमान गुम्ने त्रासले भयभित देखिन्छ । गुठी र सिटी नखः आफ्नो मुल्य मान्यतामा अडिग रहेको भए पनि नयाँ पुस्ताले पौराणिक मूल्य मान्यता र आदर्शलाई अन्धविश्वास भन्न थालेका छन् । जात्रा पर्वमा पहिलेको झैँ विश्वास उत्साह, समर्पण र लगाव कम हुँदै गएकाले सामाजिक विचलन बढिरहेको अवस्था छ । जसमध्ये १४% नेवार समुदाय गरिवीको रेखामुनी बाँचिरहेका छन् ।

छुट्टै सामाजिक संरचना र विशिष्ट अनी सभ्य र सु–संस्कृत समाज आफ्नै भाषा भेषभुषा रहनसहन खानपान र शैली भएको नेवार समुदाय आपसमा मिलेर धार्मिक आर्थिक सँगै मनोवैज्ञानिक रुपमै एकताको सुत्रमा बाँधिएको समाज हो । राजनैतिक रुपमा मूल कानूनले आफ्नो अक अधिकार, काम कर्तव्य र दायित्व सुनिश्चित गरेको भए पनि कार्यान्वयनको पक्षमा भने यो समुदाय राजनैतिक रुपमा चेतनास्तर र सहभागिता अनी मुलधारमा आउनबाट बञ्चित झैँ छ ।

नेवारी समुदाय परिवर्तनको दिशामा:
नेवारी समुदाय अज्ञानता र अशिक्षाले गर्दा लामो समय कुहिरोको काग झैँ रुमल्लिरह्यो । अन्धविश्वासको कारण चाडपर्वमा झै झगडा हुने, मनमुटाव बढ्ने तथा आफन्तसँग टाढिने गरेको पाइन्छ । पुस्ताअन्तर सँगै परम्परागत चाडपर्व माथि आयातित र देखासेखी संस्कृति हावी हुँदै गैरहेकोछ । नयाँ पुस्ता अब संस्कृती परम्परा हराएर जानेमा विश्वास गर्छन भने पुराना पुस्ता जोगाएर राख्ने । हराउने र जोगाउने विचको द्वन्द्व चुलिदै छ । हरेक वर्ष पर्वहरु मनाउदा परिवर्तन गरेर मनाउने गरेको पाइयो जसरी जात्रा पर्व मनाए पनि सामुहिक रुपमा मनाउने परम्परा यथावत नै छ । वैचारिक मतभेद र अन्धविश्वास मुख्य समस्याको रुपमा छ । “कुनै पनि राष्ट्रको उन्नती र अवन्नति त्यहाँको संस्कृतिमा निर्भर रहन्छ ।” हामी नेवार संस्कृति जोगाउन नसके कसरी नेपाल जोगाउन सक्छौँ ? राष्ट्रिय प्राथमिकताका आधारमा नेवार समुदायलाई पहिलो स्थानमा राखेर राज्यले साँस्कृतिक जागरण र संरक्षणका लागि पाइला चाल्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

निचोड:
आफ्नो इतिहास, परम्पराले संस्कृति र सम्पदा धानिरहेको नेवार समुदाय आज कुण्ठा र अर्कमण्यताले जकडिएर बसिरहेका छन् । यति समृद्ध संस्कृति भएर पनि राष्ट्रको मुलधारमा आउन नसक्नु दुर्भाग्य हो । हामिले साँस्कृतिक संस्थानले आयोजना गरेको राष्ट्रिय लोक नाटक महोत्सव २०६७ मा लाखे नाँचलाई नाट्य रुपान्तरण गर्दा भोगेको समस्या जसमा साँस्कृतिक विचलनको ज्वलन्त उदाहरणको रुपमा म आजिवन याद गरिरहने छु । राज्यले संस्कृति प्रति कस्तो दृष्टिकोण राखेको छ र समुदायले कसरी यसलाई व्यक्त गर्दछ यसका लागि म छुट्टै लेख मार्फत सुचित गर्नेछु । लाखेको मुकुट जती खतरनाक देखिन्छ त्यो त्यति खतरनाक छैन तर राजकुमार जति सुन्दर देखिन्छ त्यति नै क्रुर छ । अथवा आवरण र मुकुटमा जे देखिन्छ चरित्र त्यो भन्दा पृथक हुन्छ । सकारात्मक र नकारात्मक शक्ति सधै द्वन्द्वमा हुन्छन् तर जित सधै सत्यको हुन्छ भन्ने छैन । इतिहास सत्यको हैन जित्नेको लेखिन्छ । हाम्रा राजा महाराजाको इतिहास पनि यसरी नै लेखियो । त्यहि आफ्नो पिडा र  इतिहासलाई लाखे र राजकुमारको मल्ल युद्दको रुपमा प्रतिकात्मक ढंगले प्रस्तुत गरिने परम्परा कायम छ । अब गहिरो अध्ययन, अनुसन्धान चिन्तन मनन अनी तथ्य प्रमाण संकलन गरेर आफ्नो राष्ट्रियता र मौलिकताको रक्षा गर्न सबै तह र तप्काका नागरिक जुर्मुराएर लाग्नुको विकल्प छैन । साँस्कृतिक रुपान्तरण र हस्तान्तरणमा सकिन्छ सहयोग गरौँ, सकिदैन हस्तक्षेप नगरौँ ।

धन्यवाद ।

(पर्यटन बर्ष २०२० को प्रबर्द्धनको लागि प्रदेश नम्बर १ ,इलाममा आयोजना गरिएको ‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव २०७६’ मा पेश गरीएको कार्यपत्र)

CopyRight |All Rights Reserved